रत्नलाई पराजित गर्दै प्रिन्स फाईनलमा
December 10, 2020 Filed under हालखबर >>>> Please Subscribe our Youtube Channelनेपालका उदियमान खेलाडी प्रिन्स दाहाल सेनाका रत्नजित तामाङ्गलाई पराजित गर्दै तेश्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप –२१ ब्याडमिन्टन प्रतियोगिताको राष्ट्रिय स्तरिय पुरुष एकलको फाईनल प्रवेश गरेका छन् । बिहिबार सम्पन्न सेमिफाईनल खेलमा सिल्क ग्रुपका दाहालले तामाङ्गलाई २१–१९, २१–१६ को सोझो सेटमा पराजित गरे । निकैनै आक्रमक देखिएका प्रिन्सले रत्नलाई सम्हालिने मौकानै प्रदान गरेनन् ।
अव उपाधीका लागि प्रिन्सले सेनाका नविन श्रेष्ठको सामना गर्नेछन् ।
साँगाचोकगढी नगरपालिकाको प्रायोजन तथा तोप –२१ को आयोजनामा भएको प्रतियोगिताको अर्को सेमिफाईनलमा नविनले सेनाकै रुकेश महर्जन माथि २१–१७, २१–१० को जित निकाल्दै फाईनलमा प्रिन्स संगको भेट पक्का गरेका हुन् ।
यस अघि आठौं राष्ट्रिय खेलकुद अन्तरगत दाङ्गमा भएको ४० औं राष्ट्रिय प्रतियोगितामा पनि सुदूरपश्चिमबाट खेलेका प्रिन्सले मेन्स टिम ईभेन्ट्समा रत्नलाई पराजित गरेका थिए । हालै निस्केको बिश्व जुनियर बरियतामा प्रिन्स ११ औं स्थानमा रहेका छन् भने ब्याडमिन्टन एशियाले प्रिन्सलाई उत्कृष्ट जुनियर खेलाडी घोषित गरेको थियो ।
आजै भएको क्वाटरफाईनलको खेलमा सेनाका रत्नजितले पुलिसका जीवन आचार्यलाई २१–१०, २१–१३ र प्रिन्सले सेनाका पविन लिनथेपलाई दुवै सेट २१–१७ को समान अंकले पराजित गर्दै सेमिमा भिडन्त पक्का गरेका थिए । यस्तै अर्को खेलमा नविनले आफ्नै क्लबका प्रफुल महर्जन माथि २१–१२, १६–२१ र २१–१८ तथा सेनाका रुकेश महर्जनले एपिएफका साजन कृष्ण ताम्राकारलाई २१–१३, २१–१६ को सोझो सेटमा पराजित गर्दै सेमिमा स्थान पक्का गरेका थिए ।
कोरोनाका कारण प्रतियोगिताबाट बञ्चित रहेका राष्ट्रिय खेलाडीहरुले पहिलो पटक प्रतियोगितामा सहभागिता जनाईरहेका छन् । राष्ट्रिय स्तरका १६ खेलाडीहरुको सहभागिता रहेको प्रतियोगिताको फाईनल खेल भोली हुनेछ ।
राष्ट्रिय स्तरको पुरुष एकलका विजयी खेलाडीले नगद १ लाख ११ हजार १ सय ११ र उपविजेताले ५५ हजार ५ सय ५५ प्राप्त गर्ने छन् । ब्याडमिन्टनको ईतिहासमा यती ठुलो रकमको पुरस्कार रहेको यो पहिलो हो । यस्तै सेमिफाईनलिष्ट रत्नजित र रुकेशले जनही १०÷१० हजार प्राप्त गर्ने छन् ।