लैङ्गिक हिंसा अन्त्यमा गर्न कानुनी र संरचनागत सुधार गरिने : १६ दिने अभियानमा विविध कार्यक्रम सम्पन्न

December 10, 2020   Filed under हालखबर >>>> Please Subscribe our Youtube Channel

लैङ्गिक हिंसा अन्त्यको प्रतिवद्धता : व्यक्ति समाज र सबैको ऐक्यबद्धता भन्ने नाराका साथ मङ्सिर १० देखि शुरू भएको लैङ्गिक हिंसा अन्त्यको १६ दिने अभियानको अवसरमा देशैभरी नेपाल रेडक्रस सोसाइटीले विविध कार्यक्रमहरु सम्पन्न गरेकोछ ।

यस अवसरमा डिसेम्बर १० (मंसीर २५) मा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयमा लैङ्गिक हिंसा अन्त्यको प्रतिवद्धतासहित ऐक्यबद्धता जनाउँदै नेरेसोका केन्द्रीय अध्यक्ष डा. नेत्र तिम्सिना, महामन्त्री पिताम्बर अर्याल, कोषाध्यक्ष सीताराम कोइराला, उप कोषाध्यक्ष होम पाठक तथा केन्द्रीय सदस्यहरू र कर्मचारीहरूले लैङ्गिक हिंसा अन्त्यको प्रतिवद्धता गर्दै आचारसंहितामा हस्ताक्षर गर्नुभएको छ । सो अवसरमा नेपाल रेडक्रस सोसाइटीको विधानमै कम्तिमा ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता गरेर लैङ्गिक हिंसा अन्त्यका लागि कार्य गर्ने प्रतिवद्धता नेपाल रेडक्रसका अध्यक्ष डा. तिम्सिनाले गर्नुभयो । मानवअधिकारको सुनिश्चितता गर्न सके सबै वर्ग विरूद्धको सबै प्रकारका हिंसा अन्त्य गर्न सम्भव हुने उहाँले बताउनुभयो ।

आजै लैङ्गिक हिंसाको रोकथाम तथा प्रतिकार्यका लागि मानवीय संस्थाको भूमिकाका विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । महिला, कानुन र विकास मञ्चका कार्यकारी निर्देशक सबिन श्रेष्ठ, अपाङ्ग महासङ्घ, नेपालका कार्यक्रम प्रवन्धक मनिष प्रसाइँ र निलहीरा समाजका कार्यक्रम फोकल भक्ति शाहलेसमुदायमा हुने विभिन्न खालका हिंसा र हिंसा अन्त्यका लागि मानवीय संस्थाको भूमिकाका विषयमा प्रस्तुतीकरण गर्नुभएको नेरेसोका सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिनुभयो । अन्तरक्रियामा नेपाल रेडक्रस सोसाइटीका महामन्त्री पिताम्बर अर्यालले नेपाल रेडक्रसका प्रदेश तथा जिल्ला शाखामार्फत १६ दिने अभियानभरि देशैभर विविध गतिविधिहरूको आयोजना गरिएको जानकारी दिदै विभिन्न अध्ययनले महिला माथिको हिंसा बढी देखिएकोले हिंसाको विरुद्ध उजुरी गर्नुपर्ने र त्यसमा नेपाल रेडक्रसले शुन्य सहनशिलताको नीति अपनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

१६ दिने अभियान सफलताका साथ सम्पन्न गरेकोमा नेपाल रेडक्रसलाई धन्यवाद दिँदै रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घका नेपाल प्रमुख अज्मत उल्लाहले महासङ्घको प्रतिवद्धताअनुसार यौन तथा लैङ्गिक हिंसा अन्त्यका लागि नेपाल रेडक्रससँग सहकार्य गर्ने बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले हिंसा अन्त्यका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिवद्धतावमोजिम नेपाल रेडक्रसको पहलकदमीका विषयमा प्रकाश पार्नुभएको थियो ।

लैङ्गिक हिंसाको अन्त्यका लागि मनाइने १६ दिने अभियानका सन्दर्भमा विगत १६ दिनदेखि नै नेपाल रेडक्रस सोसाइटीले सातै प्रदेश समिति र जिल्ला शाखाहरूसँग भर्चअल अन्तरक्रियामार्फत् लैङ्गिक हिंसाको अवस्था र कानुनी उपचारका विषयमा जानकारी गराएको थियो ।